images
images

काठमाडौँ–केरुङ रेलमार्गमा गहन अध्ययनको काम आगामी महिना सुरु हुने


  • 225
    SHARES
  • २०७९ फाल्गुण १५ गते सोमबार

    काठमाडौँ–केरुङ रेलमार्गमा गहन अध्ययनको काम आगामी महिना सुरु हुने

    काठमाडौं । नेपाल–चीन जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ । 

    दुई महिना पहिले विस्तृत अध्ययनका लागि चिनियाँ टोली काठमाडौँ आएर केही समय बसेर फर्किएको थियो । नयाँ वर्ष मनाउन गएको टोली फर्किएलगत्तै विस्तृत अध्ययन अघि बढाइने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले बताए । उनहरु फर्केपछि आवश्यक प्राविधिक जनशक्ति पनि थप हुने उनले बताए । उनले भने, “उहाँहरु जनशक्ति थप गरेर फर्किएपछि अध्ययनले गति लिनसक्छ ।”                

    पहिलो चरणमा आएका व्यक्ति रेलसम्बन्धी विज्ञ रहेको प्रवक्ता चित्रकारले बताए । त्यसमा पनि तिब्बत क्षेत्रमा रेल निर्माणमा संलग्न मान्छे आएर सर्वेक्षण गरेका थिए । ‘लिडिङ एक्सपर्ट’ आएर फिल्डमा सर्वेक्षण गरेको उनले बताए। उनले भने, “अब गहन अध्ययनका लागि जनशक्ति थप गरेर आउनेछन् ।”

    चिनियाँ पक्षले ‘स्टाण्डर्ड गेज’ मा निर्माण हुनेगरी अध्ययन गर्ने विभागले जनाएको छ । भारतीय पक्षले निर्माण गरेको रेलमार्ग ‘ब्रोड गेज’ मा रहेकामा विश्वमा पछिल्लो र आधुनिक मानिने स्ट्यान्डर्ड गेजमा अध्ययन हुन लागेको हो । नेपालले सकेसम्म एउटै गेज गर्दा राम्रो हुने र यसले गर्दा भविष्यमा सञ्चालन र मर्मतमा सजिलो हुने उनले बताए । उनले भने, “अहिलेको सन्दर्भमा नवीनतम प्रविधि स्ट्यान्डर्ड गेज हो, भारत आफैँले पनि आफ्ना रेल स्ट्यान्डर्ड गेजमा बनाइरहेको छ ।” 

    नेपालमा ट्याक गेज प्राविधिक विषय मात्रै नभएर रणनैतिक विषय भएकाले पनि त्यसमा थप छलफल आवश्यक हुने प्रवक्ता चित्रकारले बताउनुभयो । नीतिगत निर्णयका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा मन्त्रिपरिषद् वा संसद्मा छलफल हुनुपर्ने उनको भनाइ छ । 

    रेल विभागले हेर्दा एउटै गेज हुँदा सञ्चालन र मर्मतमा सजिलो हुने उनको भनाइ छ । संसारका धेरै देशमा गेजमा समस्या रहेको भए पनि ढिला मात्रै रेलको निर्माण सुरु भएकाले यसमा एकरुपता ल्याउन सकिने सम्भावना रहेको उनले बताए । उनले भने, “हामीले ढिला सुरु गरेकाले एउटै गर्न सकिन्छ ।”

    चीनमा पनि केरुङबाट सिङाचेसम्म रेल निर्माण भएर सञ्चालनमा छ । त्यसबाट पश्चिम अध्ययनको काम सुरु भइसकेको र राष्ट्रिय योजनामा यसलाई समेटेर दु्रत गतिमा काम अघि बढाइरहेको प्रवक्ता चित्रकारले बताए । अब बनाउन बाँकी चार सय किमीभन्दा बढिरहेको अनुमान गरिएको छ । चीनका लागि त्यो लम्बाइमा निर्माण गर्नु ठूलो विषय नभएको उनले बताए । उनले भने, “बेइजिङ–सङ्घाइ रेलमार्ग तीन वर्षमा बनाउने भनेको त्योभन्दा कम समयमा नै सम्पन्न गर्ने मुलुक हो, उसले गर्छु भनेपछि सक्नेछ ।”

    नेपालको सीमासम्मको रेलमार्ग निर्माण गर्नुमा चीनको आफ्नो प्रयोजनसँगै नेपाललाई पनि लक्षित गरेको उहाँले बताउनुभयो । चीनको नेतृत्वमा आएका नेताहरुले विगतदेखि नै नेपालसँग रेलमार्गमार्फत जोडिने कुरामा चासो देखाएको उनले बताए। उनले भने, “यो रेलमार्ग चाँडो निर्माण हुँदा त्यसबाट नेपाललाई मात्र फाइदा छ ।”

    रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले नयाँ वर्ष मनाउन चीन फर्किएको टोली आएपछि नै अध्ययन अघि बढ्ने बताए । अध्ययन साढे तीन वर्षमा सकाउने लक्ष्य रहेको उहाँले बताए । 

    पुसमा आएको टोलीले नक्सा देखाएर अहिले ल्हासाबाट सिङाचे आइसकेको र सिङाचेबाट यताको डिपिआर भइरहेको जानकारी दिएको उहाँले बताउनुभयो । नक्सामा यता आउँदा जोडिँदै आउने देखाएको उहाँले जानकारी दिनुभयो । सो रेलमार्ग नेपालभित्र ७२ किलोमिटर रहेको छ । 

    केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौँतर्फ आउने विभागले जनाएको छ । तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट यता छुट्टिएर आउने उनले बताए । तालबाट मानसरोवर जाने मार्गबाट छुट्टिएर यतातर्फ आउने गरी रेलमार्गको अध्ययन हुनेछ ।

    रेलमार्ग निर्माणमा कति लगानी आवश्यक पर्छ, समय र कठिनाइ केके छन् भनी पत्ता लागेपछि नै निर्माण कसरी बनाउने भन्ने छलफल हुने महानिर्देशक विसुरालले बताए ।


    images
    images

    Logo