काठमाडौं । अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दामा जेल सजाय काटिरहेका उनलाई आज उच्च अदालत पोखराबाट सफाइ पाएका हुन् ।
न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको हो । उच्च अदालतबाट सफाइ पाएसँगै शाहा भोली रिहा हुने भएका छन् । यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिएको थियो ।
नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह अब कारागार मुक्त हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए । “शाहले मुद्दा जित्नुभएको छ, उहाँ भोलि रिहा हुनुहुन्छ”, वाग्लेले भने । उच्च अदालत पोखराले १५ दिन अगाडि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।



