काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
आज बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ भने संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
संघीय सरकारसँगै प्रदेश सरकारहरुबाट पनि बाहिरिने राप्रपाले निर्णय गरेको छ । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।
‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान तथा ऊर्जा मन्त्री थिए ।
साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ ।




