काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहित आठ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उमेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । शुक्रबार बालुवाटारमा सम्पन्न कांग्रेस माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्तिको, राष्ट्रिय जनमोर्चाको बैठकले राष्ट्रपतिमा कांग्रेस उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसद मतदाता रहन्छन् । जसअनुसार राष्ट्रपति निर्वाचनमा ८ सय ८२ मतदाता रहने छन् । जसमा ५ सय ५० प्रदेशसभा सदस्य र ३ सय ३२ संघीय सांसद छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५४ बमोजिम संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सांसदको मतभार ४८ रहेको छ । यसरी हेर्दा संघीय संसदमा तत्काल कायम रहेका सांसद संख्या ३ सय ३२ लाई ७९ ले हिसाब गर्दा २६ हजार २ सय २८ मतभार हुन्छ ।
त्यसैगरी प्रदेश सभाका ५ सय ५० सदस्यलाई ४८ ले हिसाब गर्दा २६ हजार ४ सय मतभार हुन्छ । सबै जोड्दा राष्ट्रपति निर्वाचनको कूल मतभार ५२ हजार ६ सय २८ हुन्छ । जसमध्ये बहुमत ल्याउने उमेदवार राष्ट्रपतिमा विजयी हुनेछ ।
आठ दलमध्येको नेपाली कांग्रेससंग १६ हजार १ सय ४२, नेकपा माओवादी केन्द्रसंग ७ हजार ६ सय ४९ र नेकपा एकीकृत समाजवादीसंग २ हजार ५ सय ७४ मतभार छ । त्यस्तै जनता समाजवादी पार्टीसंग २ हजार १ सय ४५, लोकतान्त्रिक समाजवादी पार्टीसंग ९ सय ७१,जनमतसंग १ हजार २ सय ४२, नागरिक उन्मुक्तिसंग ८ सय ९२, राष्ट्रिय जनमोर्चासंग २ सय ६ मतभार छ ।
ती दलले कांग्रेसका उमेदवारलाई मत हाल्दा ३१ हजार ८ सय २१ मतभार हुने भएकाले सहज जित हात पार्ने बताइएको छ ।



