भक्तपुर । संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले समृद्घ राष्ट्र निर्माणका लागि सीपयुक्त, दक्ष र सक्षम जनशक्ति आवश्यक रहेको बताएकी छिन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को ३५ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार भक्तपुरको सानोठिमीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले सो कुरा बताएकी हुन् ।
देशलाई समृद्ध बनाउन व्यवसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउँदै मन्त्री शर्माले सरकारले बजेटमा समेत प्राबिधिक शिक्षाका लागि प्राथमिकता दिएको बताइन । प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसंग जोड्नुपर्नेमा जोड दिंदै शर्माले आगामी दिनमा राष्ट्र निर्माणका लागि के कति संख्यामा कुन तह र क्षेत्रका जनशक्ति आवश्यकता पर्ने हो सो को राष्ट्रिय स्तरमा प्रक्षेपण हुनुपर्नेमा जोड दिइन ।
मन्त्री शर्माले अनौपचारिक सीप आर्जन गरेका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिइन । देश संघीयतमा गए पनि नयाँ शिक्षा ऐन जारी हुन ढिलाई हुंदा शिक्षा ऐन र निजामति सेवा ऐन निर्माणमा ढिलाई हंदा समस्या परेको मन्त्री शर्माको भनाइ थियो ।
कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्राबिधिक शिक्षाका बिकास एवं बिस्तारका लागि सरकार प्राथमिकताका साथ लागिरहेको बताए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, राष्ट्रिय योजना आयोगका सदस्य डा। संगीता सिंह लगायतले प्राबिधिक शिक्षालाई ग्रामिण क्षेत्रका विद्यार्थीको पहुँचसम्म पुर्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले सीटीइभीटीका कार्यक्रम, बजेट, नीति तथा प्रगतिका बारेमा विवरण पेश गरेका थिए ।
सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले सीटीइभीटीको आवश्यकता, सुधारका योजना र राज्यको योगदानकाबारेमा चर्चा गरेका थिए ।
सो अवसरमा उत्कृष्ट प्राविधिक शिक्षालय, उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई सम्मान गरिएको थियो ।



