काठमाडौं । वैदेशिक रोजगार विभागभित्र जाँदा अनिर्वाय रुपमा आफ्नो परिचयपत्र देखाउनुपर्ने भएको छ । विभागले एक सुचना जारी गर्दै विभागभित्र प्रवेश गर्न परिचयपत्र अनिर्वाय रुपमा गरेको हो ।
विभागले जारी गरेको सुचना अनुसार विगत केही दिनदेखि विभागको नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नामबाट कानून, विधि र प्रकृया विपरित कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्यहरु बढ्दै गएकाले प्रवेश कडाइ गरेको हो ।
त्यस्तै, 'अमर्यादित भाषा प्रयोग गरी काम गर्ने कर्मचारीलाई काम गर्ने वातावरण प्रभावित पार्ने क्रियाकलाप बढ्दै गएको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको छ,' विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विभागले कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई असम्बन्धित व्यक्तिको प्रवेश लाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाइ गरिएको हुँदा विभागमा काम लिएर आउने सेवाग्राहीहरुले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्न अनुरोध गरेको छ ।




