काठमाडौं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो ।
झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादरसमेत कायम गरिएको छ । साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म ५ सय रुपैयाँ, यातिम्छाचोकबाट दिक्तेलसम्म ४ सय ५० रुपैयाँ तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म ४ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।
यस्तै लामदुवाली–दिक्तेल ३ सय ७० रुपैयाँ , चम्पा–दिक्तेल ३ सय ५० रुपैयाँ, चिउरीडाँडा–दिक्तेल ३ सय रुपैयाँ, दुम्ली–दिक्तेल २ सय ६० रुपैयाँ, रुवाबु–दिक्तेल २ सय ४० रुपैयाँ, च्यानडाँडा–दिक्तेल १ सय ८० रुपैयाँ र मोहोरिया–दिक्तेल १ सय ३० रुपैयाँ भाडादर कायम गरिएको छ । दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्न १० किलोसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकिलो ४ रुपैयाँका दरले भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।



