images
images

त्रिकोणात्मक सिरिज विजेता खेलाडीलाई सरकारले जनही २ लाख दिने


  • 208
    SHARES
  • २०७९ फाल्गुण ११ गते बिहीबार

    त्रिकोणात्मक सिरिज विजेता खेलाडीलाई सरकारले जनही २ लाख दिने

    काठमाडौं । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 

    उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । 

    नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो । 

    उनले भने, ‘प्रधानमन्त्री दाहालले भने, छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु ।’

    नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज युएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ ।

    नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ । 

    युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल,  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाल रहेका छन् ।-न्युज एजेन्सी नेपाल  


    images
    images

    Logo