images
images

स्कटल्याण्डमाथि रोमान्चक जित हातपार्दै नेपालद्वारा सिरिज क्लिनस्वीप 


  • 298
    SHARES
  • २०७९ फाल्गुण ९ गते मंगलबार

    स्कटल्याण्डमाथि रोमान्चक जित हातपार्दै नेपालद्वारा सिरिज क्लिनस्वीप 

    काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले सबै चारवटा खेल  जितेर रेकर्ड राखेको छ । तीन खेलअघि लिग–२ को बिजेता भइसकेको स्कटल्याण्ड र तेस्रो स्थानमा रहेको नामिबियालाई पराजित गर्दै नेपालले इतिहास रचेको हो । 

    लिग अन्तरगत मंगलबार सम्पन्न अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकालेको हो । यसअघिको पहपलो खेलमा पनि नेपालले स्कटल्याण्डमाथि तीन विकेटको सनसनीपूर्ण जित हात पारेको थियो । 

    कीर्तिपुरस्थित त्रीवीवीको मैदानमा भएको अन्तिम खेलमा २१३ रनको विजयी लक्ष्य नेपालले ४४।१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तानी इनिङ्स खेल्ने क्रममा रोहित पौडेलले ९५ रन जोडे । १०१ बलको सामना गरेका पौडेल ४ छक्का र ७ चौकाको मद्धतमा ९५ रनमा अविजित रहे । 

    त्यस्तै अलराउन्डर करण केसीले ३७ बलमा अविजित रहँदै ३१ रन बनाए । नवौं विकेटका लागि रोहित र करणले अविजित रहँदै ७५ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । 

    मार्क वाट्ले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।

    यसअघि श्रृंखलाको सबैभन्दा सशक्त बलिङ गरेको नेपालले लिग–२ च्याम्पियन स्कटल्याण्डलाई ४६।१ ओभरमा अलआउट गर्दै २१२ रनमा समेटेको थियो । स्कटल्याण्डका लागि जर्न मुन्सेले सर्वाधिक ६० रन बनाए । त्यस्तै म्याथ्यु क्रसले ४२ तथा ब्रान्डन म्याकमुलेनले ३१ रन जोडे । 

    नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए । उनले यसअघिका श्रृंखलामा ९ विकेट लिएका थिए । 

    त्यस्तै करण केसीले ३ विकेट लिए । योसंगै करणले एक दिवसीयमा ५० विकेट पूरा गरेका छन् । त्यस्तै कुशल मल्ल र ललित राजवंशीले १–१ विकेट लिए । 
    यसअघि नेपालले लगातार तीन जित हासिल गरेको थियो । 

    नेपालले यसअघि नामिबियालाई ३ विकेट र २ विकेटले हराएको थियो भने स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । नेपालले सबै खेलमा रन पछ्याउँदै जित्न सफल भएको हो । 

    यही श्रृंखलामै नेपालले २८६ रनको सबैभन्दा फराकिलो चुनौती पूरा गरेको थियो । विश्वकप लिग–२ मा स्कटल्याण्डले अन्तिम खेल खेलेको हो । सात टिम सहभागी लिगमा स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भएको छ। 

    ३६ खेल खेलिसकेको ओमान ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई खेल खेल्न बाँकी छँदै नामिबियाको ३७ अंक छ । त्यस्तै चौथो स्थानको अमेरिकाले सबै खेल खेलेर ३५ अंक जोडेको छ । 

    पाँचौं स्थानको यूएईले २६ खेलबाट २७ अंक जोडिसकेको छ । नेपालले २८ खेलबाट २६ अंक जोडेको छ । त्यस्तै पुछारको पपुवा न्यूगिनीको २८ खेलमा मात्र ५ अंक छ ।


    images
    images

    Logo