भक्तपुर । प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै उनले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको छ । अब यसलाई आफ्नो कानुन निर्माण गराउँदै एक स्वायत्त संस्था बनाउँदै समाज सेवामा अग्रणी बनाउनु पर्नेमा उनले जोड दिए ।
पछिल्लो समय रेडक्रस केवल राजनीति गर्ने थलोको रुपमा पहिचान बनाउन थालेको भन्दै थापाले यसलाई राजनीतिबाट मुक्त गरेर मान मानव सेवा गर्ने थलोको रुपमा विकास गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेशका जनतालाई रगत निःशुल्क उपलब्ध गराउन पहल गर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताए । उनले भक्तपुरको चाँगुनारायणले थालनी गरेको निःशुल्क रगत हाल भक्तपुर जिल्ला भर भएको स्मरण गर्दै अव बागमतीका १३ जिल्लामा नै यो सेवा विस्तारको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रेडक्रस र स्थानीय निकाय सँग सँगै रहनुपर्ने भन्दै नगर वासीको सेवाका लागि निःशुल्क रगत उपलब्धतामा आफूहरूले पहल कदमी चालेको बताए ।
यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोज कुमार थापाले रगतबाट भक्तपुरको चिनारी भएको बताए । जिल्लाबाट सञ्चालन भएको रक्त सञ्चार केन्द्रबाट दिइएको सेवाका कारण देश भर रगत नपाए भक्तपुर जानु भन्ने नाराबाट परिचित भएको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, काठमाडौँ शाखाका सभापति श्याम काजी डोटेल, सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा, पूर्व सभापति केपी अवाल, जिल्ला उपसभापति कृष्णेश्वरी हाडा लगायतका वक्ताले भक्तपुर रेडक्रसको कार्यका विषयमा प्रशंसा गरेका थिए ।



