काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले आगामी चैत १४ देखि १५ गते सम्म पावर समिट २०२३ आयोजना गर्दै छ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ इपानले आठौं पावर समिट आयोजना गर्न लागेको हो । २००६ मा इपानले पहिलो पावर समिट आयोजना गरेको थियो ।
उक्त पावर समिटमा ३० भन्दा बढी देशका ३०० जना अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन् । साथै, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरु, विद्युत उत्पादक, वित्तीय संस्था लगायतका प्रतिनिधीहरु गरि करिब ८०० जनाको सहभागी रहने अनुमान गरिएको छ । उक्त समिटमा भारतीय राजदूतावास कन्ट्री पार्टनरका रुपमा रहेको छ भने प्रमुख प्रायोजकहरुमा विश्व बैंक, आईएफसी, एफएमाओ, युएसएआईडी लगायतका विकास साझेदार रहेका छन् ।
संस्थाले सन् २००६ मा आयोजना गरेको पहिलो पावर समिटले मुलुकमा विद्यत उत्पादनको लागि अनुकुल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको बताइन्छ । यो वर्ष थप करिब ६०० मेगावाट प्रणालीमा थपिने छ। सन् २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ। यसरी विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ।
इपान अध्यक्ष कृष्ण आचार्यले अन्तर्राष्ट्रियस्तरका लगानीकर्ता, विकासकर्ता, विशेषज्ञ सबैलाइ समेटेर नेपालको जलविद्युत क्षेत्रमा के गर्न सकिन्छ भनेर २००६ देखि समिट गर्दै आएको बताए। समिटमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायतका सरकारी र निजी क्षेत्रका उच्चस्तरीय टोली समेत आउनेछ।
५ हजार मेगावाट क्षमताको जलविद्युत आयोजनामा १० खर्ब रुपैयाँ लगानीको प्रत्याभूति गराउने लक्ष्य छ। ‘प्राप्त सूचना अनुसार ५ हजार मेगावाट जलविद्युतका लागि लगानी प्रत्याभूति हुनेछ। त्यो भन्दा बढी पनि हुन सक्छ,’ अध्यक्ष आचार्यले भने।
पावर समिटमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेटिने गरि विभिन्न सत्रहरु सञ्चालन गरिनेछ । समिटमा लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरु प्रदर्शन गरिनेछ। यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरलाई परियोजनाहरुको बारेमा जानकारी हासिल गर्ने अवसर प्रदान गर्ने बताइएको छ।



