काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति दर सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार ३ महिनामा र एक बर्षमा अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.०
प्रतिशत रहेको छ ।
२ हजार १० जना व्यक्तिहरुमा आधारित प्रतिवेदनका अनुसार ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।
खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ । गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ ।
खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।



