काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी परेको छ । बागबजारका विश्वप्रकाश भेटवालले बुधवार आयोगमा उक्त उजुरी दर्ता गरेका हुन् । उजुरीमा डीआईजी सिंहले नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ बर्षसम्म जागीर खाएको दावी गरेका छन् ।
सिंह हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख छन् । उनीले २०५२ चैतमा प्रहरी सेवामा प्रवेश गरेका थिए । सो समयमा उनले पेश गरेको भारतीय कलेजको प्रमाणपत्र कीर्ते भएको र नागरिकतामा समेत उमेर सच्याइएको तथा वास्तविक थर बोगटी हटाएर नागरिकता बनाइएको निवेदनमा दावी गरिएको छ ।
हालका गृहसचिव विनोद प्रकाश सिंह डीआईजी सिंहका सहोदर भाइ भएको निवेदनमा दावी गरिएको छ । सचिव सिंहको पदावधि १ वर्षमात्र बाँकी रहेको अवस्थामा डीआईजी सिंह उमेरहदका कारण स्वतः अवकाशमा जाने भन्दै निवेदनमा उनको नागरिकताको सम्बन्धमा छानबिन गर्न माग गरिएको छ ।
गृहसचिव सिंहको प्रभावमा अहिले डीआईजी सिंह एआईजी हुनका लागि चलखेल गरिरहेको भन्दै निवेदनमा लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ अनुसार स्वार्थ बाझिने अवस्था रहेको भन्दै निवेदनमा यसबारे समेत आयोगको ध्यानाकर्षण गराइएको छ ।



