काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७.२२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको हो ।
यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४.९२ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ विनियोजन भएकोमा माघ मसान्तसम्म ५ खर्ब ३१ अर्ब ५० करोड रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।
पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा सात महिना अवधिमा वार्षिक विनियोजनको १७ दशमलव ४३ प्रतिशत अर्थात् ६६ अर्ब २९ करोड ८४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि २ खर्ब ३० अर्ब रुपैयाँ बराबर बजेट छुट्याइएकोमा वार्षिक विनियोजनको ३०.३४ प्रतिशत बराबर खर्च भएको छ । जुन ६९ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । वित्तीय व्यवस्थापनतर्फको बजेट सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुन्छ ।
यस अर्थमा चालु आर्थिक बर्षको सात महिनामा सरकारी ऋणको साँवा ब्याज भुक्तानीमा भएको खर्च भन्दा पुँजीगत खर्च कम देखिएको छ । सात महिना अवधिमा सरकारको राजस्व सङ्कलन ३८ प्रतिशत बराबर छ । चालु आर्थिक बर्षका लागि कूल १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व असुली गर्ने सरकारको लक्ष्य छ । तर माघ महिनासम्म ५ खर्ब ५४ अर्ब २३ करोड ६१ लाख रुपैयाँ बराबर मात्रै राजस्व उठेको छ ।
चालु आर्थिक बर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख आर्थिक बर्ष बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा लक्ष्यको ८ दशमलव ६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख आर्थिक बर्ष बराबर अनुदान आएको छ ।



