काठमाडौं । बीमाको पहुँच ४४.२५ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्रधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्ममा कुल जनसंख्याको ४४.२५ प्रतिशतले जीवन बीमा गराएका हुन् । यो संख्या म्यादी लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित हो ।
गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ३३.४१ प्रतिशत रहेको थियो । नेपालको जनसंख्यालाई ३ करोड ४ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।
म्यादी लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५२ लाख २६ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेखसहित भने कुल बीमितको संख्या १ करोड २१ लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ४० प्रतिशत हो ।
म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १७.१७ प्रतिशतले मात्रै जीवनबीमा पोलिसी किनेको बीमा प्राधिकरणले जनाएको छ ।
पुस मसान्तसम्ममा बीमा कम्पनीले कुल ९१ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा २.६४ प्रतिशतले बढी हो । एक वर्षमा जीवन बीमालेख संख्या भने ३४.८८ प्रतिशतले बढेको छ ।
गत वर्षको सोही अवधिमा जीबन बीमा कम्पनीहरुले जारी गरेको जीवन बीमालेख संख्या १ करोड ४ लाख थियो । अहिले यस्तो संख्या ३४.८८ प्रतिशतले बढेर १ करोड ४१ लाखमा पुगेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ६.११ प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १३ लाख ९५ हजार वटा पोलिसी जारी गरेका छन् ।



