काठमाडौं । हवाई सुरक्षाका लागि नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ६ बुँदे निर्देशन दिएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै प्राधिकरणले हवाई यातायात सेवालाई सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालन प्रतिको व्यवसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिवृद्धि गर्ने उद्देश्यले प्राधिकरणले ६ बुँदे निर्देशन दिएको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले हेलिकप्टर बाहेक अन्य वायुयानले भीएफआर फ्लाइट अन्तर्गत स्टेबलाइज अप्रोच गर्दा सर्ट टेकअफ र ल्यान्डिङ (स्टोल) विमानस्थलहरूमा जमिनको सतहबाट कम्तीमा ५ सय फिट तथा अन्य विमानस्थलहरूमा कम्तीमा एक हजार फिटको उचाइ अनिवार्य कायम गर्न निर्देशन गरेको हो ।
यस्तै, समर सेडलुबाट लागु हुने गरी यान्त्रिक उडान हुने कन्ट्रोल एरोड्रममा उडान गर्ने स्टल वायुयान बाहेकका अन्य उडानहरूलाई आईएफआर फ्लाइट अप्रेशन मात्र गर्न पाउने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक पाइलटले वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्थाबाट अनिवार्य चेक गर्नुपर्ने बताएको छ ।प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन् । यसअघि दैनिक १० घन्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था थियो ।




