काठमाडौं । सरकारले अर्थ मन्त्रालयका ६ सहित २६ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले २६ जना सहसचिव सरुवा गरेको हो ।
अर्थ मन्त्रालयका धनीराम शर्मा,श्रीकृष्ण नेपाल, सेवन्तक पोखरेल,रमेश अर्याल,राम प्रसाद आचार्य र झक्क प्रसाद आचार्य आएका छन् भने अर्थबाट बाहिरिएका सहसचिवहरुमा भुपाल वराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,रमेश कुमार केसीलाई स्वास्थ्य तथा जनसंख्या र केदारनाथ शर्मालाई गृहमा सरुवा गरिएको छ । त्यसैगरी भन्सार विभागको उपमहानिर्देशक यज्ञ कोइरालाको उद्योग मन्त्रालय र सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयका लगिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद््को कार्यालय मातहतको आन्तरिक राजश्व विभागको महानिर्देशक मदन दाहाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ । यस्तै,यातायात व्यवस्था विभागका टोकराज पाण्डे सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको छ भने वातावरण विभागका महानिर्देशक नमराज घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएको छ ।
यस्तै सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ भने श्रम कार्यालयबाट श्रम मन्त्रालयमा पुगेकी सुशीला अर्याललाई राष्ट्रिय कितावखानामा पठाइएको छ ।
यस्तै,स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा पठाइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ भने उसञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक विकास मन्त्रालय धनगढीका प्रदेश सचिव दीपक लामिछानेलाई पठाइएकाे छ ।
निर्वाचन आयोगका विश्व प्रसाद अर्याललाई बेपत्ता पारिएको छानबिन आयोगमा खटाइएको छ । शहरीका मोहनराज चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ मा पठाइएको छ भने उनको ठाउँमा अशोक कुमार साहलाई सहरी विकास मन्त्रालयमा पठाइएको छ ।
त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेश सागर भुसाललाई गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिस्टार रुद्र प्रसाद पण्डितलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यसैगरी अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव नेत्र प्रसाद सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।



