काठमाडौं । भ्रष्टाचार मुद्दामा झुटो बयान दिनेविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीको रुपमा विशेष अदालतमा बयान दिन गएकी भावना महतले प्रतिकुल वकपत्र गरेको भन्दै उनीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महतले घुस लिएको भन्दै यसअघि अख्तियारले उनी विरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । सो मुद्दामा सरकारी साक्षीको रुपमा महतलाई अदालतमा वकपत्र गर्न लगाइएको थियो ।
तर महतले सरकारी वकिलको सट्टा विपक्षीलाई सहयोग हुनेगरी बयान दिएपछि अख्तियारले उनीविरुद्ध नै अनुसन्धान थालेको थियो । अनुसन्धानमा उनले आयोगमा दिएको बयान र अदालतमा गरेको वकपत्र प्रतिकूल भएको पुष्टि भएपछि आयोगले उनी विरुद्ध अर्काे मुद्दा चलाएको हो ।
महत विरुद्ध पनेरुलाई कायम गरिएको बराबरको १ लाख ५० हजार रुपैयाँ बिगो र हदैसम्मको सजाय मागदावी गरिएको छ ।



