काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने सङ्केत गरेका हुन् । सञ्चारकर्मीले सोधको एक प्रश्नको जिज्ञासामा प्रधानमन्त्रीले आफूहरु संवादमा नै रहेको बताए ।
उनले भने, “हामी सल्लाह गर्दैर्छौ । सकेसम्म सत्ता साझेदार दल इन्गेज भइराख्ने गरी अघि बढ्छौँ ।” लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट लामिछाने हट्नु भएको थियो । आइतबार पुनः लामिछानेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । नागरिकता लिएपछि आफूलाई पूर्ववत् पदमा फर्काउन लामिछानेले आग्रह गर्दै आउनु भएको छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र) को आज बसेको पदाधिकारी बैठकमा साङ्गठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्रै छलफल भएको उल्लेख गर्दै प्रवक्ता महराले पार्टीको स्थायी समितिको बैठक बुधबार पुनः बस्नेछ भने । प्रवक्ता महराले अदालतको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रीको विषयमा निर्णय नगर्न पदाधिकारी बैठकमासमेत कुरा उठेको जानकारी दिए।
ष्ट्रपतिको निर्वाचनका बारेमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महराले भने,“राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन होओस् भन्नेमा पार्टीभित्र अधिकांशको समान धारणा छ ।” उनले राष्ट्रपतिको निर्वाचन हुन अझै समय बाँकी भएकाले सहमति जुट्ने विश्वास व्यक्त गरे ।



