भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरभित्र दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने र दर्ता गरेकाले पनि समयमा नविकरण नगर्ने प्रवृत्ति बढ्दै गएपछि यस्तो अभियान सञ्चालन गरिएको हो ।
नगरको प्रमुख व्यापारिक केन्द्र राधेराधेबाट शुरु भएको अभियान नगरका सबै ९ वटै वडामा सञ्चालन हुनेछ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार अभियानका क्रममा व्यवसाय दर्ता गर्दा आर्थिक वर्ष २०७४/७५ भन्दा अघिको सम्पूर्ण व्यवसाय कर छुट दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७४/७५ देखी २०७८/७९ सम्म लाग्ने सम्पूर्ण जरिवाना छुट दिइने व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले बताए । नगरको आन्तरिक आम्दानीको प्रमुख स्रोत मध्येको एक व्यवसाय करलाई नियमित गरी नगरको आन्तरिक आम्दानी बढाउँने उदेश्यसहित अभियान सञ्चालन गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।