काठमाडौं । गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीरकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सो अवधिमा २ लाख २५ हजार ५ सय ६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्ष २०७७ माघदेखि २०७८ पुससम्मको यसै अवधिमा १ लाख ३३ हजार ८ सय ६४ रुपैयाँ सवारी चालकलाई गरिएको कारबाहीमा ८ करोड ८७ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशमा यसवर्ष छ हजार दुई सय ६२ कार्यक्रम सञ्चालन गर्दा ९ लाख ६० हजार १ सय ४६ जना सहभागी भएका र अघिल्लो वर्षयसै अवधिमा गरिएको कार्यक्रममा ५ हजार ३८ वटा कार्यक्रममा ४ लाख ७६ हजार ८ सय ५४ जना सहभागी भएको प्रनाउ सुवेदीले बताए ।
प्रदेशमा यसवर्ष चार सय दुई वटा दुर्घटना भएकामा २ सय १३ मानिसको मृत्यु, ३ सय ८१ जना सख्त घाइते, २ सय ४५ सामान्य घाइते भएका र त्यसमा ५ सय १४ वटा सवारीसाधन परेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष ४ सय १५ वटा दुर्घटना हुँदा २ सय ५१ जनाको मृत्यु, २ सय ७४ सख्त घाइते, २ सय ७० जना सामान्य घाइते भएका र त्यसमा ५ सय ५४ सवारीसाधन परेका थिए ।
ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नमस्ते अभियान, विद्यालय सचेतना कार्यक्रम, चालकसँग एक मिनेट कार्यक्रम, वातावरण मैत्री ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष र प्रशिक्षण जस्ता १२ वटा शीर्षकका कार्यक्रम प्रभावकारी बनेको उनले जानकारी दिए ।



