काठमाडौं । रवि लामिछानेको सांसद पद खारेज भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई गृहमन्त्री बनाउने तयारी गरेको छ । सर्वोच्चले विपक्षमा फैसला गर्ने संकेत पाएसँगै रास्वपाभित्र गैरसांसदलाई मन्त्री बनाउनेगरी यस्तो तयारी केही दिनदेखि नै सुरु भएको हो ।
रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार लामिछानेको पक्षमा अदालतको फैसला नआए के गर्ने भन्नेबारे केही दिनअघि शीर्ष नेताहरुबीच अनौपचारिक रुपमा छलफल भएको थियो । अदालतले सांसद पद खारेज गर्यो र फेरि निर्वाचित भएर आउनुपर्ने भयो भने महामन्त्री ढकाललाई गृह मन्त्रालयको जिम्मेवारी दिने विषयमा बैठकमा छलफल भएको थियो ।
अहिले सर्वोच्च अदालतको फैसलापछि लामिछानेले पुनः नागरिकता लिनुपर्ने अवस्था सिर्जना भएको छ । साथै, चितवन–२ मा उपनिर्वाचन हुनुपर्ने अवस्था समेत छ ।
‘गृहमन्त्रालयको जिम्मेवारी ढकाललाई दिएर आफ्नो नागरिकता प्रक्रिया छिटो टुंग्याउने र उपनिर्वाचनबाट फेरि निर्वाचित भएर गृह मन्त्रालयमा फर्किने सभापतिज्यूको तयारी छ’, ती केन्द्रीय सदस्यले भने, ‘यो सबै प्रक्रिया पूरा हुन ६ महिनापति नै लाग्ला, त्योबेलासम्म महामन्त्रीज्यू मन्त्री हुन पाउनुहुन्छ ।’
त्यसो त नागरिकता पुन प्राप्त गरेपछि रवि नै गैरसांसद मन्त्री बन्ने विकल्पबारे समेत छलफल भएको थियो । तर, यसो गर्दा अर्काे कानूनी जटिलता आउनसक्ने सम्भावना रहेकोले ढकालकै विकल्प बलियो देखिएको थियो ।
नेपालको संविधानले गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनासम्म मन्त्री हुने सुविधा दिएको छ । मन्त्रीको शपथ लिएको सो अवधिसम्म सांसद नभए पद स्वतः निष्क्रिय हुने प्रावधान समेत छ । सोही व्यवस्था अनुसार सो अवधिका लागि ढकाललाई मन्त्री बनाउने तयारी गरिएको हो ।
यसअघि ढकालले लामिछानेको विपक्षमा फैसला आए पनि स्वीकार गर्ने तर पार्टी उनकै निर्देशनमा चल्ने बताएका थिए ।



