काठमाडौं । भारतको ७४औँ गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह सम्पन्न भएको छ । बिहीबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा उत्तोलन गर्दै समारोहको आयोजना गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, सहभागिता रहेको थियो । उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरु, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो ।
त्यस अवसरमा संक्षिप्तमन्तव्य राख्दै नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले भारत र नेपालबीचको सम्बन्धमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नयाँ आयाम थपिएको बताए । उनले पारस्परिक सम्बन्धलाई अझ गतिशील तुल्याउन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न आफ्नो देशको राजनीतिक नेतृत्व प्रतिबद्ध रहेको बताए । समारोहमा भारतबाट आएका कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सन् १९४७ मा स्वतन्त्र भएको भारतको संविधानसभाले सन् १९५० जनवरी २६ मा गणराज्य घोषित गरेको थियो। सोही अवसरमा हरेक वर्ष आजकै दिन भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ ।



