काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालिन कार्यालय प्रमुख अंगद बहादुर शाही र स्टोर किपर गोविन्द खनाल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
फार्मेसीबाट मेडिकल सामाग्री खरिद नै नगरी झुठो बिल बनाई भुक्तानी लेनदेन गरिएको अभियोगमा आयोगले उनीहरुमाथि मुद्दा दायर गरेको छ । उनीहरुमाथि ८१ हजार ८ सय २२ रुपैयाँ रकम भ्रष्टाचार गरेको पाइएका कारण सो रकम बराबरको बिगो कायम गरिएको छ ।
साथै शाहीले कार्यालयको खर्चबाट व्यक्तिगत प्रयोजनका लागि ७ हजार ७ सय ७ रुपैयाँ बराबरको औषधि खरिद गरि भुक्तानीसमेत लिएका थिए । सो रकम पनि उनीसँग असुल गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानाएको छ ।
त्यसबाहेक नै पनि बाँकेको डुडुवा गाउँपालिकाको कार्यालयमा सि.अ.हे.व. छैठौ पदमा कार्यरत सिताराम चौधरी माथि पनि स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको मुद्दा परेको छ । सञ्चालनमै नरहेको फार्मेसीको नाममा अन्यत्रैबाट औषधि खरिद गरिएको भनेर झुठो बिल देखाएको तर सामान उपलब्ध नगराएका कारण मुद्दा दायर गरिएको हो ।



