images
images

काठमाडौं महानगरले ३ महिनामा हटायो ९ हजार होर्डिङ बोर्ड


  • 248
    SHARES
  • २०७९ माघ १२ गते बिहीबार

    काठमाडौं महानगरले ३ महिनामा हटायो ९ हजार होर्डिङ बोर्ड

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ । 

    विशेषगरी नयाँ बानेश्वर,  कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।  

    महानगरले आर्थिक ऐन–२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि  १ हजार ५ सय रुपैयाँ र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । 

    महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ । 

    चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा ५५ करोड रुपैयाँ लक्ष्य लिएकोमा पुस सम्म ३१ करोड ४२ लाख रुपैयाँ असूल उपर गरेको डा अघिकारीको भनाइ छ ।  

    लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्र्यौता रकम पनि असूल हुन थालेको बताएको छ । 


    images
    images

    Logo