काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फार्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा सञ्चालित उक्त फार्म खारेज भएका हुन् ।
सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फार्म खारेजी गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताउनुभयो । कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फार्म खारेजीमा परेका छन् ।
सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् ।
कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।
तनहुँमा थपिएका उद्योगको कूल पुँजी रु ६३ करोड ५२ लाख पाँच सय ४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रुपैयाँ रहेको छ ।
थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ताबापत २४ लाख तीन हजार चार सय राजस्व सङ्कलन भएको छ ।
सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी÷नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ ।
गत आव २०७७÷७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख रुपैयाँ लगानी भएको थियो ।
त्यस्तै आव २०७६÷७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो ।
एक लाख रुपैयाँसम्म पुँजी भएको उद्योगले एक हजार एक सय, तीन लाख रुपैयाँसम्म पुँजी भएको उद्योगले तीन हजार एक सय रुपैयाँ, पाँच लाखसम्म पुँजी भएको उद्योगले रु छ हजार एक सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार एक सय रुपैयाँ, एक करोड रुपैयाँसम्म पुँजी भएको उद्योगले २० हजार एक सय, पाँच करोड रपैयाँसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय रुपैयाँ र पाँच करोड रुपैयाँ भन्दामाथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।



