काठमाडौं । गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ ।
एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईवी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । विदेशीमा व्यवस्थापकीय भूमिकामा रहेका चार, एक खेलाडी तथा अन्य एक व्यक्ति छन् ।
सीआईवीका अनुसार ती मध्ये दुई जनालाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्यको खोजी जारी छ । पक्राउ परेकामा सप्तरीको राजविराजका पूर्व क्रिकेट खेलाडी महबुल आलम र बाराको सिम्रौनगढका क्रिकेट खेलाडी मोहमद आदिल आलम छन् । आदिललाई सप्तरीबाट र महबुबलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस् प्रालिको रणनीतिक तथा व्यवसायीक साझेदारीमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरमा सीआईवीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैलाई पाँच दिनको म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको आचार्यले जानकारी दिए।
सीआईवीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय खेलाडी महबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको जानकारी दिइयो । आदिललाई एउटा ‘नो बल’ र एउटा ‘वाइड बल’ खेल्न भनिएको र उनले दुई खेलमा सोही प्रकृतिको खेल खेलेको पुष्टि भएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । अर्का नेपाली खेलाडीलाई त्यसैगरी स्पट फिक्सिङ गर्न लगाएको उनले बताए । उनीहरु पक्राउ नपरेकाले बाँकी आठ जनाको नाम खुलाइएको छैन । एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन समुहबाटै लोभ देखाएर फिक्सिङको प्रस्ताव गरेको भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
“एउटा टोलीका व्यवस्थापकको निर्देशनमा विदेशी खेलाडीले एक इनिङ (पारी) मा निर्धारित रन मात्रै बनाइ स्पट फिक्सिङ गरेको पाइएको छ । केही फ्रेन्चाइज टोलीको आर्थिक र खेलाडीको पारिश्रमिकको श्रोत पनि खुलेको छैन”, उनले भने । उक्त घटनाको अनुसन्धानका लागि सिआइवीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
समितिको अनुसन्धानपछि आज विवरण सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत यसरी मिलेमतो गरेको पाइएमा तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए उक्त रकम पनि जफत हुने व्यवस्था छ ।



