काठमाडौं । प्रहरीले नेपाल टी–२० लिगमा स्पट र म्याच फिक्सिङ गरेको आरोपमा २ जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको छ । आलम बिराटनगर बसपार्कबाट पक्राउ परेका हुन् । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् ।
नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र दाबी गर्दै आएको छ । पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ ।



