काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ८ बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ बराबरको नाफा कमाएका हुन् । गत आर्थिक वर्षको सोही अवधिको बैंकहको नाफा ३ अर्ब २० करोड १७ लाख ३८ हजार रुपैयाँ रहेको थियो । जुन गत बर्षको तुलनामा २०.९१ प्रतिशतले कम हो ।
बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ वटा विकास बैंकहरुले मध्ये ३ बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा बढी नाफा कमाएका छन् । यसरी नाफा वृद्धि गर्न सफल बैंकहरुमा शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक रहेका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा धेरै नाफा वृद्धि शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकले गरेको छ । सो बैंकले गत बर्षको तुलनामा २३.१८ प्रतिशत नाफा बढाएर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गतवर्षको सोही अवधिमा बैंकले ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशतले बढेको छ । सोही अवधिमा बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ बराबरको नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा ६० करोड २४ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गरिमा विकास बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ५० करोड २१ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँको नाफा कमाएको छ । सो गत बर्षको तुलनामा १.८६ प्रतिशत बढी हो ।
५ बैंकको नाफा घट्यो
बैंकहरुले सावर्जनिक गरेको विवरण अनुसार ५ बैंकको नाफा घटेको छ । यसरी नाफा घट्नेमा ज्योति विकास बैंक, लुम्विनी विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् । यसमा सवैभन्दा धेरै घट्नेमा ज्योति विकास बैंक रहेको छ । ज्योति विकास बैंकको नाफा ८९.९० प्रतिशतले घटेको छ । बैंकले ६ महिनाको अवधिमा ३ करोड ४७ लाख ५९ हजार नाफा आर्जन गरेको छ भने गत बर्षको सोही अवधिमा बैंकले ३४ करोड ४० लाख १६ हजार नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेको छ । बैंकले १८ करोड ५८ लाख ७१ हजार रुपैयाँ नाफा रहेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३४ करोड ३६ लाख ८१ हजार नाफा कमाएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा बैंकले २६ करोड १८ लाख २२ हजार नाफा कमाएको छ । सो गत बर्षको तुलनामा ३६.३८ प्रतिशतले कम हो । लुम्विनी विकास बैंकको नाफा २५.७८ प्रतिशले घटेको छ । बैंकले २६ करोड १० लाख ६७ हजार नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा बैंकले ३५ करोड १७ लाख ४४ हजार नाफा कमाएको थियो ।
त्यस्तै, महालक्ष्मी विकास बैंकले ३१ करोड ६० लाख ४६ हजार नाफा आर्जन गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ४५ करोड ६२ लाख ९२ हजार नाफा कमाएको थियो । सो गत बर्षको तुलनामा ३०.७४ प्रतिशतले कम हो ।



