images
images

एसियाली विकास बैंकको सहयोगमा दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु


  • 365
    SHARES
  • २०७९ माघ ८ गते आइतबार

    एसियाली विकास बैंकको सहयोगमा दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा विद्युत् सबस्टेशन निर्माण सुरु भएको छ । गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । 

    विद्युत् सबस्टेशन निर्माणका लागि निर्माण कम्पनीका प्रतिनिधि अहिले निर्माणस्थलमा आइपुगेका छन् । दुम्कीबासमा निर्माण सुरु गर्न लागिएको विद्युत् सबस्टेशनका लागि छुट्याइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकले काम सुरु गरेको उनले बताए । विद्युत् सबस्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर साइट क्लियरको काम सकिएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताए । “निर्माण कम्पनीका प्रतिनिधि फिल्डमा आएका छन्, जग्गाको थप प्रमाणीकरणको काम हुँदै छ, अब लगत्तै निर्माणको काम अघि बढ्छ”, गाउँपालिका अध्यक्ष गिरीले भने ।
     
    १ सय ३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सबस्टेशन निर्माणको काम सुरु भएको हो । एसियाली विकास बैंकको ७ मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको यस आयोजना अबको २२ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रसहित वरपर हाल नवलपरासी पश्चिम बर्दघाटस्थित सबस्टेशनबाट विद्युतीकरण गरिएको छ । टाढाबाट ल्याइएको प्रसारण लाइनका कारण ठूलो समस्या झेल्नुपरेको अध्यक्ष गिरीले बताए ।

    लो भोल्टेससहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकामा दुम्कीबासमा सबस्टेशन निर्माणपछि ती समस्या समाधान हुने उनले बताए । “अहिले धेरै समस्या झेल्नुपरेको छ, तारमात्रै टाँगिएको छ,  लो भोल्टजको समस्या उस्तै छ, दाउन्ने क्षेत्रमा बर्खामा विद्युत् पोलमा क्षति हुँदा कति समय अन्धकारमा बस्नुपर्ने स्थिति छ, अब चाँडै ती समस्या समाधान हुनेछ”, अध्यक्ष गिरीले भने । 

    गाउँपालिकाभित्रका  वडा नं ३ र ५ मा अझै विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकाले पालिकाभित्र सबै क्षेत्रमा सहजरूपमा विद्युतीकरणका लागि यो आयोजनाले सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष गिरीले बताए । यी वडाका कतिपय क्षेत्रमा सामुदायिक विद्युतीकरणसहित लघुजलविद्युत् आयोजनाबाट विद्युतीकरण गरिएको भए पनि समस्या धेरै रहेकाले ती समस्या समाधान गर्न यो आयोजनाले सहयोग पुग्ने उनले बताए।

    सबस्टेशन निर्माण पालिकाको भविष्यसँग समेत जोडिएको अध्यक्ष गिरीले बताउनुभयो । “लो भोल्टेज हुँदा घरयासी उपभोक्तासहित भएका उद्योगले थप समस्या झेलिरहेका छन्, भारतीय सीमासँग जोडिएको पालिका भएकाले उद्योग आउन खोजिरहेका छन्, तर विद्युत् छैन, यसले धेरै पछि पारेको छ, बनेपछि औद्योगिकरणमा सहयोग त पुग्छ नै उज्यालो विनयी त्रिवेणी बनाउने हाम्रो योजना पनि सफल हुन्छ”, अध्यक्ष गिरीले भने, “यस कारण यो आयोजना पालिकाको भविष्यसँग जोडिएको छ ।” दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माणपछि मध्यविन्दु नगरपालिका क्षेत्रमा समेत विद्युतीकरणमा थप सहजता हुने आयोजनाले जनाएको छ । 


    images
    images

    Logo