काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकामा १० करोड ९६ लाख ८५ हजारका तीन ठूला सिँचाइ आयोजना सम्पन्न हुने भएका छन् । उक्त आयोजनामध्ये एक सम्पन्न भई यो वर्षदेखि सञ्चालनमा आएको छ भने एक निर्माण पूरा हुने चरणमा र एक निर्माणाधीन रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
यस आयोजनाबाट नगरका एक हजार १६ घरधुरी किसान लाभान्वित हुने भएका छन् । जिल्लाको सबैभन्दा धेरै वर्षा हुने र पानीको मुहान भएको यस नगरपालिकामा जिल्लामा आउने सिँचाइ योजनामध्ये करिब ७० प्रतिशत जाने गरेको कार्यालयका अधिकृत बुद्धिमान लिम्बूले जानकारी दिए ।
नगरको वडा नं ७ का पाँच सय आठ घरधुरी लाभान्वित हुने गरी गत वर्षको फागुनमा सम्पन्न भएको महालक्ष्मी खोला याङ्पाङ सिँचाइ आयोजना सञ्चालनमा आएको छ । सङ्घ तथा प्रदेश सरकारको ३ करोड ३३ लाख आठ हजारको लागतमा सम्पन्न भई चालु आर्थिक वर्षमा प्रदेश सरकारको थप रु आठ लाख लागतमा बाँकी काम पूरा भई सिँचाइ आयोजना सञ्चालनमा आएको हो ।
साढे छ किलोमिटर लामो उक्त आयोजनाले एक सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा दिने कार्यालयका अधिकत प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै ५ करोड ६४ लाख ७७ हजारको लागतमा नगरका वडा नं ४, ६, ७ र ८ का चार सय १५ घरधुरीका लागि यस वर्षको माघ मसान्तसम्ममा लक्ष्मी खोला लहरेबर सिँचाइ आयोजना सम्पन्न हुने चरणमा रहेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको ५ लाख थप लागतमा सम्पन्न हुन लागेको साढे सात किलोमिटर लामो यस आयोजनाले चार वडाको दुई सय हेक्टरमा सिँचाइ सुविधा दिने छ । त्यस्तै यस वर्षको असारदेखि १५ महिनामा सम्पन्न हुने गरी १ करोड ९६ लाखको लागतमा ९३ घरधुरीका लागि महामाया हङ्ग्राङ्ग्रे सिँचाइ आयोजना निर्माणाधीन रहेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको थप रु ४५ लाख लागतमा सम्पन्न हुने उक्त चार किलोमिटर लामो सिँचाइ योजनाबाट नगरका वडा नं ७ र ८ को ८० हेक्टरमा सिँचाइ पुग्नेछ । महालक्ष्मी नगरपालिका जिल्लाकै कान्छो नगरपालिका हो । नगर क्षेत्रका २४ हजार आठ सय जनसङ्ख्यामध्ये ९६ प्रतिशतभन्दा बढी कृषि पेसामा आबद्ध रहेको नगरपालिकाको तथ्याङ्क छ ।
सिँचाइ आयोजनाले नगरपालिकाका किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गराएको नगरप्रमुख ध्रुव रायले जानकारी दिनुभयो । “सिँचाइको प्रशस्त सुविधा हुन थालेपछि यहाँका किसान पारम्परिक खेती छाडेर व्यावसायिक खेती तथा व्यवसायमा लाग्न थालेका छन्”, नगरप्रमुख रायले भने ।
पर्याप्त पानीको मुहान तथा सिँचाइको प्रशस्त सुविधाका कारण यस नगरको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा सघन तथा बाक्लो बस्ती देखिन्छन् । वर्षको बाह्रै महिना विभिन्न बालीनालीले हराभरा देखिने यस नगर क्षेत्रमा १२ वटा ठूला सिँचाइ आयोजना र दुई सय सातवटा साना सिँचाइ आयोजना रहेको नगरपालिकाको तथ्याङ्क छ ।



