काठमाडौं । नेपालमा चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्मा १ सय ५४ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार पुसमसान्तसम्मा १ खर्ब २९ अर्ब रुपैयाँ बराबर लगानी प्रस्ताव गरिएको छ । चालु बर्षको साउनदेखि पुसमसान्तसम्मा ३९ वटा ठूला उद्योग, ४१ वटा मझौला उद्योग र ६५ वटा साना उद्योग दर्ता भएका छन् ।
गत वर्ष सोही अवधिमा १ सय ५५ वटा उद्योगमध्ये साना ५२, मझौला ५७ र ठूला उद्योग ४६ वटा दर्ता हुँदा १ खर्ब ९० अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । गत वर्ष १४ हजार २ सय ५२ जनालाई रोजगारी प्रस्ताव गर्दा यस वर्ष ९ हजार ८ सय १६ जनालाई मात्र रोजगार प्रस्ताव गरिएको छ ।
चालु वर्ष साउनदेखि पुससम्म १ सय ३१ वटा उद्योगमा १७ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी लगानी प्रस्ताव गरिएको छ । हालसम्म स्वदेशी र विदेशी गरी ८ हजार ९ सय ९ वटा उद्याेग दर्ता हुँदा २७ खर्ब ६६ अर्ब रुपैयाँ कुल लगानी प्रस्तावित भएकाे विभागले जनाएकाे छ ।



