काठमाडौं । बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने कार्यसुची तय गरिएको हो ।
संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बागमति प्रदेशमा मंगलबार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।
जमकट्टेल पुस २५ गते बागमती प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए । जमरकट्टेलले नेकपा ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्रीलाई कम्तीमा ५६ सिट चाहिन्छ। सो प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पनि मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गरेपछि उनलाई समर्थन गर्ने सांसदको संख्या ७२ पुगेको छ ।
मधेस प्रदेशसभामा रशेका १ सय ७ सदस्य मध्ये कांग्रेसका २२ र एकीकृत समाजवादीका ७ सांसद विपक्षमा रहेका छन् ।



