काठमाडौं । अफगानिस्तानकी एक पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो। समाचार संस्था रोयटर्सका अनुसार आइतबार भएको आक्रमणमा परेर पूर्वसांसद ३२ वर्षीया मरसल नविजादाको ज्यान गएको हो । सोहि घट्नामा परेर उनका सुरक्षा गार्ड समेत मारिएका छन् भने उनका भाइ घाइते भएका छन्।
प्रहरीले हत्याको अनुसन्धान भइरहेको जनाएको छ । सन् २०२१ अगस्टमा तालिबानले सत्ता कब्जा गर्दा नविजादा अफगानिस्तानकी सांसद थिइन्।
अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोड्दा पनि नविजादा भने स्वदेशमै बसिरहेकी थिइन्। सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन्, उनी।
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा महिलालाई सार्वजनिक जीवनमा निषेध गरिएको छ भने छात्राहरूलाई विद्यालयदेखि विश्वविद्यालयसम्म प्रतिबन्ध लगाइएको छ।



