काठमाडौं । पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । “मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ”, उनले भने, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।”
विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार ८ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । दुर्घटनामा परेको जहाजमा ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुई, अर्जेन्टिनाका एक, आयरल्याण्डका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।
पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।
यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक बोलाए पनि उनी विवरण बुझ्न कन्ट्रोल रूममा पुगेका हुन्।



