काठमाडौं । पछिल्ला दिनहरूमा अफलाइन राइडरले विकृति बढाउँदै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अपरेसन सुरु गरेको छ । जसअनुसार, प्रहरीले विभिन्न समयमा अफलाइन राइड गर्नेहरूलाई नियन्त्रणमा लिई सचेत गराउँदै फेरि अफलाइन राइड गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले सुरु भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको सङ्ख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ । थोरै भए पनि बढी पैसा कमाउने वा बचाउने लोभमा अफलाइन यात्रा गर्ने यात्रु र चालक दुवैले त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई भने ख्याल नगरेको पाइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले अफलाइन राइडिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए । “अफलाइन राइडिङका कारण हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्नु हाम्रो कर्तव्य हो”, उनले भने, “अफलाइन राइडिङ गरेको पाइएमा चालकलाई सम्झाउने र यसबारे जानकारी दिँदै सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ ।”
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले अफलाइन यात्रा गर्दा बढी असुरक्षित हुने हुँदा अनलाइनमै यात्रा गर्न सुझाव दिए ।पछिल्लो समय अनलाइन राइड शेयरिङको लोकप्रियता बढ्दै जाँदा अफलाइन राइड शेयरिङ विकृति बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकाका प्रायः चोकहरूमा अफलाइन राइडिङ गराउनेहरूको भीड बढ्दै गएपछि प्रहरीले समेत यसको व्यवस्थापनका लागि चासो देखाउन सुरु गरेको छ ।
केही दिनअघि मात्रै कोटेश्वरमा अफलाइन राइडरले यात्रु लुटपाट गरेको घटना बाहिरिएको थियो । अफलाइन राइडिङका क्रममा कतिपयले भने यौनजन्य दुर्व्यवहारका घटना हुने गरेको समेत पाइएको प्रहरी बताउँछ ।चोक चोकमा पठाओ हो ? भन्नेसँग सावधान रहनुपर्ने प्रहरीको भनाइ छ ।
‘अफलाइन राइड गर्दा जिम्मा कसले लिने ? कारबाहीको भागीदार को हुने ? कहीँ न कहीँ त यो दर्ता हुनुपर्छ होला नि ? प्रवक्ता एसपी मैनालीले प्रश्न गरे । त्यस्तो अवस्थामा उनीहरूलाई सुरुमा सचेत गराउने र अटेरी गरेको पाइए कारबाही समेत गर्ने गरेको उनी बताउँछन् ।
उनका अनुसार केही समयअघि मात्रै प्रहरीले १ सय २५ भन्दा बढी राइड सेयरिङ चालकलाई विशेष कक्षासमेत सञ्चालन गरेको थियो । जसमा उनीहरुलाई अफलाइन राइडिङ नगर्न तथा कानूनको पालना गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए। “अफलाइन राइडिङ गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ, त्यसैले अफलाइन राइडिङ नगर्न र नगराउन आग्रह गरेका छौँ, यसबाट जोखिम न्यूनीकरण हुने हाम्रो अपेक्षा छ”, उनले भने ।
हाल उपत्यकामा विभिन्न कम्पनीमा आबद्ध करिब डेढ लाख राइडले दैनिकजसो सेवा दिइरहेका छन् । जसमध्ये राइडरले अफलाइन सेवा बढी दिने गरेको पाइन्छ । पठाओ नेपालसँग मात्रै दुई पाङ्ग्रेमा १ लाख ५० हजार र चार पाङ्ग्रेको हकमा करिब ७ हजार राइडर दर्ता भएका छन् भने हालसम्म ३५ लाख यात्रु आबद्ध भएका छन् ।
यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले आफूहरु सधैँभरि चालक र यात्रुलाई सचेत बनाउँदै आए पनि अझै पनि अफलाइनमा चल्ने चालक र यात्रुको कमी नआएको पठाओ नेपाल प्रालिका प्रवक्ता शशांक शमशेर थापाको भनाइ छ ।
उनले नेपाल प्रहरीले अफलाइन यात्रालाई निरुत्साहित गर्दै कारबाही अघि बढाएको विषय स्वागतयोग्य भएको बताए। “यात्रुलाई अफलाइन जानुपर्ने कुनै बाध्यता नै हुँदैन र पनि अफलाइन गएको भेटेका छौँ”, उनले भने, “अफलाइन जानु भनेको यात्रा असुरक्षित बनाउनु हो भन्ने भुल्नु हुँदैन ।”
पछिल्लो समय विमानस्थल, माइक्रोस्ट्याण्ड, बसपार्क, व्यस्त चोक तथा गल्लीमा अफलाइन यात्रा गर्ने चालक यात्रुसँग मोलमोलाइ गरिरहेको भेट्न सकिन्छ । सीमित कमिसन जोगाउने दाउका साथै थोरै भए पनि अतिरिक्त शुल्क पाउँछु कि भन्ने लोभमा राइडर ग्राहकसँग मोलमोलाइ गरिरहेको दृश्य अचेल सामान्य भइसकेको छ ।
यात्रुहरु पनि मोबाइलको डाटा खर्चेर अनलाइनका लागि ‘रिक्वेस्ट’ पठाउन र थोरै समय कुर्नुपर्ने सजिलो विधि अपनाउन छाडेर महँगो शुल्क तिरेर असुरक्षित यात्रा गरिरहेको देख्न सकिन्छ ।
अफलाइन यात्रा कतिसम्म असुरक्षित छ भने बढी शुल्क लिनेदेखि यौन दुव्र्यवहारसम्मका घटनामा यात्रुलाई उजुरी गर्न पनि निकै गाह्रो हुन्छ भने दुर्घटना भइहाल्यो भने क्षतिपूर्तिबापत बीमाको सुविधाबाट पनि यात्रु वञ्चित भइन्छ ।
“पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्युआरटी (क्विक रेस्पोन्स टिम) परिचालन गर्छौं र सेवा उपलब्ध गराउँछौँ”, थापाले भने, “अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।”
उनले सकेसम्म अनलाइन यात्रा गर्नका लागि चालक र यात्रु दुवैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । “अफलाइनमा यात्रा गर्दा राज्यको राजस्व गुम्छ भने यात्रु र चालक दुवैको ज्यान जोखिममा पर्न सक्छ”, उनले भने, “अफलाइनमा ट्रयाकिङ गर्न पनि नसकिने भएकाले सबैलाई अनलाइन नै यात्रा गर्न आग्रह गर्छु ।”
पठाओ नेपालले त्यसरी अफलाइन गएको भेटिए चालकलाई कारबाही गर्दै आएको थापाले जानकारी दिए । “यदि घटना सामान्य छ भने पहिलो र दोस्रो पटकलाई चेतावनी मात्रै दिन्छौँ भने तेस्रो पटकको हकमा सधैँभरिका लागि कम्पनीबाट हटाउँछौँ”, उनले भने, “तर फैजदारी घटनाको हकमा भने तुरुन्तै कारबाही गर्दै थप कानुनी उपचारका लागि समेत पीडितलाई सहयोग गर्छौं ।”
हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डु, जायर, साधनलगायतका राइड सेयरिङ एप प्रचलनमा छन् । जसमध्ये इन्ड्राइभर नेपालमा दर्ता बिना नै सञ्चालन भइरहेको छ । पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला बिना दर्ता, बिना कमिसनमा राइडर र यात्रुलाई सेवा दिइरहेको देखिन्छ ।
इन्ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी सञ्चालन गर्ने बताएको थियो । कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित्रा नन्दाको भने आफूहरुले यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’बाट भने सेवा दिने दाबी थियो तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन ।
इन्ड्राइभरका नन्दाले आफूहरुले बीमाको सुविधा नदिने बताए पनि कानुनमा भने यात्रुको बीमा अनिवार्य गरिएको छ । बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्नसक्ने उल्लेख छ ।
बीमा सुरक्षा
राइड सेयरिङ एपमध्ये पठाओ नेपाल प्रालिले यात्रुको पनि बीमा गरेको छ । यात्राको अवधिमा कुनै दुर्घटना भयो भने उपचारलगायतको खर्च बीमाले पूर्ति गर्छ तर यसका लागि अनलाइनमै यात्रा गरेको हुनुपर्छ । अफलाइन यात्रा गरेको हो भने यात्रु वा चालक दुवै बीमाको सुविधाबाट वञ्चित हुन्छन् ।
कम्पनीका अनुसार १ लाख रुपैयाँसम्म दुर्घटना बीमा छ भने दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा १० लाख रुपैयाँको बीमा गरिएको छ । कम्पनीका अनुसार बीमा सुरु भएपछिको हालसम्म दुई सयभन्दा बढीले दुर्घटनामा परी ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी लिइसकेका छन् । पठाओ नेपालबाट हालसम्म दुर्घटनामा परी मृत्यु भएका तीन जनाले त्यसबापतको बीमा सुविधा पनि प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ ।
कानुनमा के छ ?
सरकारले हालसम्म राइड सेयरिङजस्ता स्टार्टअपलाई सञ्चालन तथा नियमनका लागि कुनै कानुन बनाएको छैन । यद्यपि बागमती प्रदेशले भने चालु आर्थिक वर्षको आर्थिक विधेयकमा भने दर्ताका लागि निश्चित रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ । जसमा दुई पाङ्ग्रे सवारी साधनको हकमा २५ हजार रुपैयाँ दर्ता शुल्क र नवीकरणका लागि रु १२ हजार पाँच सय तोकिएको छ ।
साथै चार पाङ्ग्रे सवारी साधनको हकमा ५० हजार रुपैयाँ दर्ता शुल्क र नवीकरणका लागि २५ हजार रुपैयाँ तोकिएको छ । यदि दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै सवारी साधन सञ्चालन गर्नेका हकमा दर्ताका लागि ७० हजार रुपैयाँ र नवीकरणका लागि ३५ हजार रुपैयाँ शुल्क तोकिएको छ तर हालसम्म कार्यविधि नबनेकाले कार्यान्वयन नसकेको यातायात व्यवस्था कार्यालय बागमती प्रदेश प्रमुख मदनप्रसाद पोखरेलले बताए ।
राइड सेयरिङ कम्पनी ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसी भने सरकारले कानुन बनाएर यस्ता कम्पनीको दर्ता र सञ्चालनसम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समयमा सुरक्षित यात्राका लागि भरपर्दो माध्यम बन्दै गएको राइड सेयरिङ कम्पनीलाई नियमन गरी सञ्चालन गरिनुपर्ने बताए । उनले कुनै कम्पनी दर्ता नभई सञ्चालन हुन नदिने, स्वदेशी र विदेशी कम्पनीलाई छुट्याउन तथा अफलाइन सेवा दिनेलाई कारबाहीका लागि यो आवश्यक कानुन आवश्यक भएको बताए ।



