काठमाडौं । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ बर्षको आय प्रक्षेपण गरेको छ । मंगलबार जेडिए भवनको सभा कक्षमा बसेको बैठकले आर्थिक बर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को आय प्रक्षेपण गरेको हो ।
महानगरले तीन आर्थिक वर्षमा ३८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको आय प्रक्षेपण गरेको छ । जसअनुसार आर्थिक वर्षमा २०८०/८१ को आय ११ अर्व ८० करोड २० लाख रुपैयाँ हुनेछ । त्यसैगरी आर्थिक वर्षमा २०८१/८२ को १३ अर्व १२ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्षमा २०८२/८३ को १३ अर्व ६६ करोड ३० लाख रुपैयाँ आय हुने प्रक्षेपण महानगरको छ ।
नेपाल सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने समानीकरण, शसर्त तथा निशर्त अनुदान, राजस्व बाँडफाँड, रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि करलगायतका शीर्षकहरुको सिलिङ् प्राप्त नभएकोले प्रक्षेपित अङ्क थपघट हुन सक्ने जनाईएको छ ।
महानगरले आर्थिक वर्ष २०७८/७९ मा १० अर्व ६० करोड ४८ लाख ३८ हजार रुपैयाँ आय गरेको थियो । चालु आर्थिक बर्षको अनुमानित आय १० अर्व ४१ करोड ९५ लाख ९ हजार रहेकोमा हालसम्म ४ अर्व ४१ करोड ६५ लाख ४ हजार रुपैयाँ आय संकलन भइसकेको छ । समितिको बैठकमा आर्थिक बर्ष २०८०/०८१ का लागि सम्पत्ति करमा पुनरावलोकन गर्ने विषयमा छलफल भएको छ ।
सडकको पहुँच र प्रकृतिका आधारमा निर्धारण हुने भएकोले वडा कार्यालयबाट छलफल चलाएर सडकको प्रकृति शिफारिस गर्न अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।
महानगरले गएको ७ बर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । महानगरपालिकाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक २ बर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ । यसअघि व्यववसायिक नभएका ठाउँ अहिले व्यवसायिक भइसकेका छन् । कर निर्धारण प्रणालीलाई एकरुपता दिन पर्ने भएको छ । यसकारण कर पुनरावलोकन गर्नुपर्ने भएको हो ।
‘करको दरभन्दा दायरा बढाउनु पर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ,’ समितिका संयोजक एवं महानगरका उपप्रमुख सुनिता डंगालले भनिन, ‘कर निर्धारण प्रणालीलाई बैज्ञानिक बनाएर दायरामा नभएका करदातालाई दायरामा ल्याउनुपर्छ, कर तिर्नेले तिरेको तिर्यै, नतिर्नेले कहिल्यै तिर्नै नपर्ने अवस्था हुनुहुँदैन ।’



