काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९७.८१ प्रतिशत सांसदको विश्वास पाएका छन् । प्रतिनिधि सभामा आज उपस्थित रहेका २ सय ७० सांसदमध्ये २ सय ६८ सांसदले उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेका हुन् । बाँकी जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्दा तटस्थ मत शून्य रह्यो ।
प्रचण्डको उक्त प्रस्तावमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र रुपमा निर्वाचित सबै सांसदले समर्थन गर्ने जनाउँदा कांग्रेसका केही सांसद र नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा भने विश्वासको मतको विपक्षमा उभिएका थिए ।
यही पुस १० गते राष्टपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन् । यसरी नियुक्त भएका प्रधानमन्त्रीले १ महिनाभित्र संसदबाट विश्वासको मत प्राप्त गर्नुपर्ने उपधारा ४ को व्यवस्था अनुसार दाहालले विश्वासको प्रस्ताव पेश गरेका हुन् ।



