काठमाडौं । नेपाल एलपी ग्यास उद्योग महासंघका अध्यक्ष कुशकुमार मल्लीले भारतीय आयल कर्पोरेसन (आईओसी) ले एलपी ग्यास बुलेटमा पानी समेत मिसाएर पठाउने गरेको बताएका छन् । नेपाल आयल निगमको ५३ औं वार्षिकोत्सवमा बोल्दै मल्लीले बुलेट ग्यासमा पानी मिसाएर पठाउँदा यसको प्रत्यक्ष उपभोक्तासम्म परेको बताए ।

‘भारतले पठाउने बुलेटमा कहिलेकाहीँ पानी भरिएर आउँछ, ग्यास उद्योगहरुले त्यसलाई रिफिल गर्दा सिलिण्डरमै पानी भरिने अवस्था हुन्छ,’ उनले भने, ‘गुणस्तर विभागका महानिर्देशक पनि निगमको सञ्चालक समितिमा हुनुहुन्छ, विभागसँग सहकार्य गरेर निगमले यसलाई नियन्त्रण गर्नुपर्यो ।’
उनले निगमले एलपी ग्यासको मूल्यजस्तै उद्योगि तथा ढुवानीकर्ताको कमिसनलाई समेत स्वचालित बनाउनुपर्ने बताए । निगमले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको उनको गुनासो छ ।



