पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएसंगै तीनजना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसंग शपथ लिएका हुन् ।
अधिकारी आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारीलाई मुख्यमन्त्री बनाउन एमालेसहित माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदले समर्थन गरेका थिए ।
मुख्मन्त्री अधिकारीले शपथग्रहणसंगै तीन सदस्यीय मन्त्री मण्डल विस्तार गरेका छन् । पहिलो चरणमा सत्ता साझेदार तीन पार्टीका एकएक जना सांसदलाई मुख्यमन्त्री अधिकारीले मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त हुनेमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङ रहेका छन् । उनीहरुको जिम्मेवारी भने तोकिएको छैन ।
पूर्व आन्तरिक मामिला मन्त्रीसमेत रहेका चुमान पुनः प्रदेशको गृहमन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । मुख्यमन्त्री अधिकारीले मन्त्रीमण्डल सानो आकारको बनाउने यसअघिनै बताएका थिए ।



