काठमाडौं । शिक्षा सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार एक सुचना जारी गर्दै चालु शैक्षिक सत्रका लागि ६ सय ८६ सिट पदको लागि खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको हो ।
आयोगले नेपाली विषयका लागि १ सय ११ सिटमा विज्ञापन आह्वान गरेको छ । त्यस्तै अंग्रेजीका लागि ८४, गणितका लागि २ सय ८, विज्ञानका लागि १ सय ९१, सामाजिक अध्ययनका लागि ५४, अर्थशास्त्रका लागि ८, कार्यालय सञ्चालन तथा लेखाका लागि १५, शिक्षाका लागि १, स्वास्थ्य शिक्षाका लागि १, शुक्लयजुर्वेदका लागि १, संस्कृत व्याकरण ३, संस्कृतभाषा ७, कम्प्युटर विज्ञान १, संस्कृत साहित्य १ गरी ६ सय ८६ पदका लागि विज्ञापन आह्वान गरेको हो ।
यस्तै सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन खुलाएको छ भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा विज्ञापन खुलाएको आयोगले जनाएको छ ।
परीक्षा लिखित र अन्तर्वार्ता गरी दुई किसिमले हुनेछ भने लिखितमा सामान्य र विषयगत परीक्षा हुनेछ । यी दुवै परीक्षामा छनौटमा परेकालाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ आयोगले जनाएको छ ।आयोगका अनुसार इच्छुक उम्मेदवारले माघ २४ गतेसम्म नियमित दस्तुरमा र फागुन २ गतेसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन फारम भर्न सक्नेछन् ।



