काठमाडौं । नेपाल वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ । कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई भाडादर घटाएको हो ।
नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा घटाएका हुन् । निगमले आइतबार रातीदेखि लागु हुने गरी आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो । संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ ।
यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३ सय ९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५ सय १० रुपैयाँ रहेको थियो भने अव धनगढीको अधिकतम भाडा १६ हजार १ सय ४० रुपैयाँ रहेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६ सय ८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २ सय ५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६ सय रुपैयाँ भाडा घटेको छ ।
काठमाडौं–सिमरामा १ सय ८० रुपैयाँ भाडा घटेको छ । त्यस्तै काठमाडौं–भद्रपुरमा ६ सय रुपैयाँ, काठमाडौं–विराटनगरमा ४ सय ८५ रुपैयाँ, काठमाडौं–जनकपुरमा २ सय ६० रुपैयाँ, काठमाडौं–भरतपुरमा २ सय १५ रुपैयाँ र काठमाडौं–पोखरामा ३ सय २० रुपैयाँ भाडा घटेको छ ।
संघका अनुसार बढेको नयाँ भाडादर पुस २७ गतेदेखि लागु हुने छ ।



