काठमाडौं । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुने भएका छन् । वाग्मतीमा नेकपा माओवाादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्नेछन् ।
त्यस्तै गण्डकीमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित भईसकेको छ । दुवै प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको थियो ।
सत्ता गठबन्धनमा भागबन्डा मिलिसकेका कारण आजै दुवै प्रदेशमा मुख्यमन्त्री नियुक्ति हुनेछन् । वाग्मतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री दावी गर्न आह्वान गरिएको थियोे ।



