काठमाडौं । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुलाई एक महिनाभित्र आफ्नो विवरण पेस गर्ने निर्देशन दिएको छ । विभागले एक सुचना जारी गर्दै व्यवसायीहरुलाई आफ्नो सम्पूर्ण विवरण वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) मा अपडेट गर्ने निर्देशन दिएको हो ।
दर्ता रहेका मेनपावर कम्पनीहरु व्यवस्थित नहुँदा विभागलाई आफ्नो दैनिक कार्य सञ्चालन, प्रशासन सञ्चालनमा समेत बाधा पर्ने गएको भन्दै १ महिनाभित्र आफ्नो संस्थाका बारेमा अद्यावधिक विवरणहरू फेमिसमा अपलोड गर्न भनेको छ ।
मेनपावर कम्पनीहरुले कम्पनी रहेको ठेगाना, फोन नम्बर, फ्याक्स नम्बर, इमेलसहित लाइसेन्स, शेयर लगत, गुगल नक्सा, सञ्चालकको नामसहित तीन पुस्ते विवरण, नागरिकता, संस्थाको परिचयपत्र, संस्थामा कार्यरत कर्मचारीको विवरण लगायतका सम्पूर्ण विवरण विभागमा पठाउन भनेको छ ।
विभागबाट इजाजत प्राप्त गरे पश्चात् प्रत्येक इजाजत पत्रवाला संस्थाले आफ्नो संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ । तर, कतिपय संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन नभएकाले अनलाइन प्रणालीमा प्रविष्ट गर्न भनिएकाे विभागले जनाएकाे छ ।



