काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको हो।
शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको हो । त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालका अनुसार निर्वाचन सम्पन्न गर्न परिषद्ले केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ। समितिले स्ववियु निर्वाचन कार्यतालिका प्रकाशन गर्नेछ।
पुस २१ गते बसेको त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो। सोहि सिफारिस अनुसार नै स्ववियु निर्वाचन गर्ने निर्णय भएको त्रीविले जनाएको छ ।
स्ववियु निर्वाचन घोषणाअघि त्रिविले पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी संगठनका अध्यक्षसँग छलफल गरेको थियो। त्रिविले स्ववियु निर्वाचन गर्न पहल गरे पनि लामो समयदेखि हुन सकेको थिएन।
प्रत्येक दुई÷दुई वर्षमा हुनु पर्ने स्ववियु निर्वाचन एक दशकदेखि हुन सकेको छैन। २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस, जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।
उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा त्यतिबेला निर्वाचन हुन नसकेको थिएन। हाल त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्।



