काठमाडौं । कृषिमा आत्मनिर्भर बन्ने उदेश्यसहित कागेश्वरी मनोहरा नगरपालिकामा हरहर महादेव कृषि केन्द्र स्थापना गरिएको छ । नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा शुक्रवार कृषि केन्द्रको शुभारम्भ गरेको हो ।
सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत स्थापना गरिएको सो परियोजनाको नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गरे । हरहर महादेव साकोसको भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्र ४० रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको हो ।

यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा लिएको बताउँदै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले सक्दो सहयोग गर्ने बताए । परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग पुर्याउने कार्कीको भनाई थियो । नगरभित्र रोजगारी सिर्जना गरी कृर्षी उत्पादनमा आत्मनिर्भर बन्न परियोजनाले सहयोग गर्ने प्रमुख कार्कीले बताए ।
कार्यक्रममा बोल्दै नगरपालिकाको उपप्रमुख शान्ता थापा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले परियोजना सफलताको शुभकामना दिँदै नगरपालिकाले कार्यक्रमका लागि आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्नेमा जोड दिए । कार्यक्रममा वडा अध्यक्ष रामजी पुडासैनी, वडा सदस्य तथा नगरपालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।



