images
images

लगत सङ्कलनको काम अघि बढाउन स्थानीय तहलाई भूमि आयोगको आग्रह


  • 215
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    लगत सङ्कलनको काम अघि बढाउन स्थानीय तहलाई भूमि आयोगको आग्रह

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित,  सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई स्थानीय तहमा आवेदन दिन आग्रह गरेको छ । आयोगले तोकेको ढाँचामा आवेदन दिन सम्वद्ध पक्षलाई आग्रह गरेको छ । 

    आयोगका उपाध्यक्ष नहेन्द्र खडकाका अनुसार स्थानीय तहका वडामा तोकिएका स्थानमा खटिएका लगत सङ्कलकमार्फत् आवेदन दिन अनुरोध गरिएको हो । 

    उनका अनुसार ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक गाउँपालिका, पक्ताङलुड गाउँपालिका, मौवाखोला गाउँपालिका, उदयपुरको रौतामाई गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, काठमाडौँको दक्षिणकाली र कागेश्वरी नगरपालिका, हुम्लाको अदानचुली, सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका र बैतडीको दोगडा केदार गाउँपालिकामा यही पुस २३ देखि ३५ दिनभित्र लगत सङ्कलकमार्फत् आवेदन दिन आयोगले आग्रह गरेको हो ।

    आयोगले स्थानीय तहले विभिन्न कारण देखाई लगत सङ्कलनको काम नगरेको पाइएपछि पुनः ३५ दिने सूचना प्रकाशित गरेको छ । उपाध्यक्ष खड्काअनुसार पाँचथरका सात स्थानीय तह, इलामको एक, ताप्लेजुङको पाँच, मोरङको तीन, सिराहाको दुई, सर्लाहीको चार, पर्सा, महोत्तरी, काठमाडौँ, तनहुँ र दाङका एक एक स्थानीय तहले लगत सङ्कलन गरेका छैनन् ।

    रुपन्देहीका पाँच, रोल्पाका चार, रुकुमपूर्वका दुई, पाल्पाको छ, बाजुराको नौ, अछाम, कैलाली र कञ्चनपुरका एक एक स्थानीय तहले पनि लगत सङ्कलन गरेका छैनन् । ती स्थानीय तहलाई तत्काल लगत सङ्कलनको काम अगाडि बढाउन आग्रह गरिएको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

    आयोगले हालसम्म १ हजार १ सय ९२ पुर्जा वितरण गरेको छ । यस्तै, ६ सय ८३ स्थानीय तहसँग लगत सङ्कलनका लागि आवश्यक सम्झौता गरेको छ । आयोगमा हालसम्म ७ लाख १८ हजार ८ सय ८ जनाको लगत प्रविष्ट भएको छ । 


    images
    images

    Logo