काठमाडाैं । नेपाल राष्ट्र बैंकले भूक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको चुक्ता पुँजी बढाएको छ । बैंकले बिहीवार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ लागु गर्दै भूक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको पुँजी बृद्धि गरेको हो ।
बैंकले भुक्तानी सेवा प्रदायकलाई ५ देखि २५ करोड र भुक्तानी प्रणाली सञ्चालकका लागि ४० देखि ८० करोड रुपैयाँसम्मको चुक्ता पुँजी व्यवस्था गरेको हो । बैंकले भुक्तानी कार्ड वाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायकको चुक्ता पुँजी ५ करोड तोकिएको छ । त्यस्तै भुक्तानी कार्ड सहित अन्य उपकरणहरू समेत सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायकको चुक्ता पुँजी २५ करोड तोकिएको छ ।
त्यस्तै, भुक्तानी प्रणाली सञ्चालककाे चुक्ता पुँजी ४० करोड र नेपालमा जारी भएको भुक्तानी उपकरण मार्फत् नेपाल बाहिर समेत भुक्तानी कारोवार हुने गरी सञ्चालन हुने संस्थाको चुक्ता पुँजी ८० करोड तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार यो व्यवस्था लागुहुनु अघि बैंकबाट अनुमतिपत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ साल असार मसान्तसम्ममा कायम गरी सक्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाहरू र विदेशमा स्थापना भई नेपालमा भुक्तानीसम्बन्धी कार्य कार्य गर्ने संस्थाहरूलाई भने न्यूनतम चुक्ता पुँजीसम्बन्धी यो व्यवस्था लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।



