images
images

रसुवागढी नाका : तीन सयभन्दा बढी सवारी साधन आयात


  • 305
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    रसुवागढी नाका : तीन सयभन्दा बढी सवारी साधन आयात

    काठमाडौं । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली  व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा  सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो । 
     
    यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिकार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा  टिमुरे क्षेत्रमा राखिएका छन् ।

    सवारी साधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री ६ सय ३९, हाइड्रोका सामग्री ३ सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा २, इलेक्ट्रिक पार्ट  १७, टेलिफोनका सामग्री ७, नस्पाती ११ टिपका  साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् ।

    ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ । कोभिड सङ्क्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि माल सामग्री भने चिनियाँ ठूला टिफरद्वारा चिनियाँ सवारी चालकबाटै नेपाल भित्र्याई सहयोग हुँदै आएको छ । 

    प्रत्येक दिन बिहान र दिउँसो  दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुल्ला गरी रोग रोकथामका लागि  औषधी छ्याप्ने चलन बसालिएको छ । केरूङबाट  चिनियाँ  माल सामग्री रसुवागढीमा ल्याउँदा  जति पटक माल सामग्री आउँछ उत्तिनै पटक  रोग निर्मलीकरणसम्बन्धी औषधी छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् । 

    रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मङ्सिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट २ अर्ब ९० करोड रुपैयाँ भन्सार शुल्क बापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ ।

    यसैगरी यही मङ्सिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने १ करोड ३१ लाख बराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । दस दिनको अन्तरालमा  ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो । 

    निकासी सामग्रीहरूमा  बस्नका लागि बाँसका  मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामग्री रहेको बताइएको छ । कोभिड सङ्क्रमणको समस्यालाई गम्भीरतापूर्वक  मनन गरी नेपाली भूभागको क्वरेन्टिनमा बसेका कामदारबाट आयात निर्यातका सामग्री  एक आपसी पल्टी गर्ने व्यवस्था मिलाइएको  छ ।

    रसुवागढीबाट टिमुरेको भन्सार हातासम्म मालवाहक कन्टेनर डिब्बा ल्याउनका लागि १७ जना सवारी चालक र सामान पल्टीका लागि ३५ जना मजदुर  क्वारेन्टिनमा रहँदै आएको सीमा सुरक्षाकर्मीले बताएका छन् । रोग निर्मलीकरणका लागि रसुवागढीमा औषधी छर्कन सुरु गरिएको जनाइएको छ । रसुवागढीदेखि भन्सार हाता टिमुरेसम्म  दैनिक करिब तीन सयजना मजदुरले रोजगारी पाएका छन् । 


    images
    images

    Logo