काठमाडौं । आर्थिक क्षेत्रमा क्रियाशील पत्रकारलाई लक्षित गर्दै राष्ट्रिय योजना आयोगले नयाँ पुस्तक सार्वजनिक गरेको छ । आर्थिक क्षेत्रका विभिन्न सूचकहरुको प्रयोग विधिको सम्बन्धमा व्याख्या गर्दै आयोगले मंगलबार सो पुस्तक सार्वजनिक गरेको हो ।
प्रमुख आर्थिक सूचकको प्रयोग विधि नामक उक्त पुस्तक विद्युतीय माध्यमबाट सार्वजनिक गरिएको छ । पुस्तकले पत्रकार बाहेक आर्थिक क्षेत्रमा क्रियाशील व्यक्तिका लागि समेत प्रभावकारी हुने विश्वास आयोगले व्यक्त गरेको छ ।
यो पुस्तकमा तथ्यांकको प्रयोग गर्ने तरिका, तुलनात्मक अध्ययन तथा तथ्यांक विश्लेषणको विधि र प्रस्तुतीकरण, लगायतको सम्बन्धमा व्याख्य गरिएको छ । त्यस्तै, तथ्यांकीय विवरणमा आधारित भएर लेख लेख्ने, तथा त्यस्ता तथ्यांकहरुको व्याख्या गर्ने विषयलाई समेत पुस्तकमा समेटिएको आयोगले जनाएको छ ।
२१ युनिटमा विभाजन गरिएको उक्त पुस्तकबाट धेरैभन्दा धेरै व्यक्तिहरुले लाभ लिनसक्ने विश्वास गर्दै आयोगले पुस्तकमा भएका कमी कमजोरीहरु सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त समेत गरेको छ । यसका लागि आवश्यक सुझाव दिन आग्रह समेत गरिएको छ ।
यसअघि पनि आयोगले र तथ्याङ्कीय साक्षरता नामक पुस्तक प्रकाशनमा ल्याएको थियो । उक्त पुस्तकमा राम्रो पृष्ठपोषण पाएको भन्दै आयोगले अर्को पुस्तक प्रकाशन गरेको हो । यो पुस्तक प्रकाशनका लागि द एशिया फाउण्डेशनले सहयोग गरेको छ भने नेपाल इन डाटा नामक संस्थाले संयोजन गरेको छ ।



